मधेसमा तीन महिनामा २७ करोड ८५ लाखका अवैध सामान बरामद
रौतहट, असोज १५ । सशस्त्र प्रहरी बल (एपीएफ) ले मधेस प्रदेशमा तीन महिनाको अवधिमा २७ करोड ८५ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरेको छ। एपीएफ मधेस प्रदेश मुख्यालयका अनुसार गत असारदेखि असोजसम्मको अवधिमा भन्सार छली तथा अवैध रूपमा ओसारपसार गरिएका विभिन्न सामान बरामद गरिएको हो।
एपीएफले बरामद गरेका सामान आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाएको जनाएको छ। अवैध रूपमा आयात तथा ओसारपसार गरिएका खाद्यान्न तथा किराना सामग्री, कपडा, सुर्तीजन्य पदार्थ, विद्युतीय सामग्री, हार्डवेयर, मोटर पार्ट्स, कस्मेटिक्सलगायतका सामान बरामद गरिएको छ।
अवैध सामान ओसारपसारमा प्रयोग भएको आशंकामा एपीएफले विभिन्न सवारीसाधनसमेत नियन्त्रणमा लिएको छ। तीन महिनाको अवधिमा करिब १० करोड २२ लाख रुपैयाँ मूल्यका सवारीसाधन बरामद गरी आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको एपीएफ मधेस प्रदेश मुख्यालयले जनाएको छ।
मधेस प्रदेशमा नेपाल–भारत सीमाबाट हुने अवैध ओसारपसार नियन्त्रण गर्न एपीएफले निगरानी तथा कारबाहीलाई तीव्र बनाएको जनाएको छ। सीमा क्षेत्रमा भन्सार छलीका सामान, लागुऔषध, हतियार तथा अन्य गैरकानुनी गतिविधिमाथि निगरानी बढाइएको हो।
काठदेखि नगद र बहुमूल्य धातुसम्म बरामद
एपीएफका अनुसार उक्त अवधिमा १ हजार १०४ दशमलव ०५ क्युबिक फिट अवैध रूपमा ओसारपसार गरिएको काठसमेत बरामद गरिएको छ। त्यस्तै, ३ करोड ७ लाख रुपैयाँभन्दा बढी नेपाली रुपैयाँ तथा ४ हजार २८० भारतीय रुपैयाँसमेत बरामद भएको छ।
एपीएफ मधेस प्रदेश प्रमुख डीआईजी विष्णुप्रसाद भट्टका अनुसार कारबाहीका क्रममा ८ दशमलव ५७ ग्राम सुन र १०२ ग्राम चाँदीसमेत बरामद गरिएको छ। बरामद भएका बहुमूल्य धातु सम्बन्धित निकायमा बुझाएर थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जनाइएको छ।
सीमा क्षेत्रमा हुने अवैध व्यापार तथा भन्सार छली नियन्त्रणका लागि एपीएफले नियमित गस्ती, चेकजाँच तथा शंकास्पद स्थानमा खोजतलासलाई प्राथमिकता दिएको जनाएको छ। विभिन्न स्थानमा भण्डारण गरेर राखिएका अवैध सामानसमेत खोजी गरी नियन्त्रणमा लिइएको छ।
लागुऔषध नियन्त्रणमा पनि कारबाही तीव्र
मधेस प्रदेशमा लागुऔषध ओसारपसार तथा कारोबार नियन्त्रणका लागि समेत एपीएफले कारबाही तीव्र बनाएको छ। तीन महिनाको अवधिमा ठूलो परिमाणमा विभिन्न प्रतिबन्धित लागुऔषध बरामद गरिएको एपीएफले जनाएको छ।
एपीएफका अनुसार १९३ दशमलव ६८ ग्राम ब्राउन सुगर, ९ दशमलव ५ किलोग्राम चरेस तथा १ हजार ६०६ दशमलव ८५७ किलोग्राम गाँजा बरामद गरिएको छ। सीमा क्षेत्रबाट हुने लागुऔषध ओसारपसार नियन्त्रणका लागि सुरक्षा निगरानी थप प्रभावकारी बनाउने प्रयास भइरहेको जनाइएको छ।
एपीएफले मधेस प्रदेशका सीमावर्ती स्थानीय तहमा लागुऔषधविरुद्धको पाइलट कार्यक्रम सञ्चालन गर्ने तयारीसमेत गरेको छ। लागुऔषध दुव्र्यसन नियन्त्रणका लागि स्थानीय तहसँगको समन्वयमा कार्यक्रम अघि बढाउने तयारी रहेको बताइएको छ।
हतियार र गोलीगठ्ठासमेत नियन्त्रणमा
अवैध हतियार नियन्त्रणतर्फ पनि एपीएफले कारबाही गरेको जनाएको छ। तीन महिनाको अवधिमा तीन थान घरेलु पेस्तोल, दुई थान सिक्सर र दुई थान भरुवा बन्दुक बरामद गरिएको छ।
त्यस्तै, हतियारमा प्रयोग हुने गोली तथा बारुदसमेत नियन्त्रणमा लिइएको एपीएफले जनाएको छ। सीमा क्षेत्र तथा अन्य संवेदनशील स्थानमा अवैध हतियारको ओसारपसार रोक्न चेकजाँच र सुरक्षा निगरानी बढाइएको छ।
मानव बेचबिखनको आशंकामा ५९ जनाको उद्धार
एपीएफले मानव बेचबिखन तथा ओसारपसारको आशंकामा सञ्चालन गरेको अभियानका क्रममा ५९ जनाको उद्धार गरेको छ। उद्धार गरिएकामध्ये २९ जना महिला र ३० जना पुरुष रहेका छन्।
एपीएफ मधेस प्रदेश प्रमुख डीआईजी भट्टका अनुसार उद्धार गरिएकामा १२ जना बालक र दुई जना बालिका पनि रहेका छन्। सीमा क्षेत्रबाट हुने मानव बेचबिखन तथा अवैध ओसारपसार नियन्त्रणका लागि एपीएफले निगरानी तथा उद्धार अभियानलाई निरन्तरता दिएको जनाएको छ।
यसैगरी, अवैध रूपमा नदीजन्य पदार्थ तथा अन्य सामग्री उत्खनन गर्ने गतिविधिविरुद्ध पनि कारबाही गरिएको छ। तीन महिनामा २२ वटा ट्र्याक्टर, २६ वटा टिपर र दुई वटा एक्स्काभेटर नियन्त्रणमा लिइएको छ। यस क्रममा तीन जनालाई नियन्त्रणमा लिएर सम्बन्धित निकायमा बुझाइएको एपीएफले जनाएको छ।
एपीएफले अवैध सामान भण्डारण गरिएका हुन सक्ने आशंकामा ३५ भन्दा बढी स्थानमा खोजतलाससमेत गरेको छ। विभिन्न अपराधमा संलग्न भएको आरोपमा ८४ जनालाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाइएको जनाइएको छ।
विपद् उद्धारमा पनि एपीएफको भूमिका
मधेस प्रदेशमा सीमा सुरक्षा र अपराध नियन्त्रणसँगै विपद् व्यवस्थापन तथा खोज तथा उद्धारमा पनि एपीएफ परिचालित हुँदै आएको छ।
तीन महिनाको अवधिमा विभिन्न विपद्का घटनामा ३० जनाको सकुशल उद्धार गरिएको एपीएफले जनाएको छ। उद्धार गरिएकामध्ये १५ जना पुरुष र १५ जना महिला रहेका छन्।
त्यस्तै, विभिन्न विपद्का घटनामा घाइते भएका २७४ जनाको उद्धार गरिएको छ। घाइते उद्धार गरिएकामा २११ जना पुरुष र ६३ जना महिला रहेका छन्। सोही अवधिमा विभिन्न घटनामा ७९ जनाको शवसमेत फेला पारी सम्बन्धित परिवार तथा निकायलाई बुझाउने प्रक्रिया अघि बढाइएको जनाइएको छ। फेला परेका शवमध्ये ६३ जना पुरुष र १६ जना महिला रहेका छन्।
नदी तथा जलजन्य विपद्का बेला खोज तथा उद्धारलाई प्रभावकारी बनाउन मधेस प्रदेश एपीएफ मुख्यालयमा १२ जना तालिमप्राप्त गोताखोरसमेत रहेका छन्। आवश्यकता अनुसार उनीहरूलाई नदीमा हुने दुर्घटना तथा विपद्का घटनामा परिचालन गर्ने गरिएको छ।
३५ जनामाथि विभागीय कारबाही, ४३ पुरस्कृत
एपीएफका अनुसार संगठनको नीति तथा नियम उल्लंघन गरेको आरोपमा ३५ जना अधिकारी तथा कर्मचारीमाथि विभागीय कारबाही गरिएको छ। त्यस्तै, संगठनमा उल्लेखनीय योगदान पुर्याउने ४३ जना कर्मचारीलाई पुरस्कृत गरिएको छ।
डीआईजी भट्टले मधेस प्रदेशमा सीमा सुरक्षा, तस्करी नियन्त्रण, लागुऔषध तथा अवैध हतियार नियन्त्रण, मानव बेचबिखन रोकथाम र विपद् उद्धारलाई प्राथमिकतामा राखिएको बताएका छन्।
उनले सीमा क्षेत्रमा सुरक्षा निगरानीलाई थप प्रभावकारी बनाउँदै गैरकानुनी गतिविधि नियन्त्रणका लागि एपीएफको परिचालन निरन्तर रहने बताए। साथै, संगठनका कर्मचारीलाई नियम तथा आचारसंहिता पालना गर्न निर्देशन दिँदै गलत गतिविधिमा संलग्न पाइए विभागीय कारबाही गरिने चेतावनीसमेत दिएका छन्।
मधेस प्रदेशमा नेपाल–भारत सीमाबाट हुने अवैध ओसारपसार तथा अन्य गैरकानुनी गतिविधि नियन्त्रणका लागि एपीएफले विभिन्न क्षेत्रमा निगरानी बढाइरहेको छ। सीमा सुरक्षा, अपराध नियन्त्रण र विपद् उद्धारलाई एकसाथ अघि बढाउँदै सुरक्षा गतिविधि थप प्रभावकारी बनाउने एपीएफको तयारी रहेको छ।
Share this content:
Post Comment