दसैंमा १० लाखसम्म यात्रु काठमाडौं छाड्ने, ६५ हजार सवारीसाधन आवश्यक
काठमाडौं । यस वर्षको दसैंमा ६ लाखदेखि १० लाखसम्म यात्रुले काठमाडौं उपत्यका छाडेर आफ्नो गाउँघर फर्किने अनुमान गरिएको छ। प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले गरेको अध्ययनका आधारमा दसैंका बेला उपत्यकाबाट बाहिरिने यात्रुको चाप व्यवस्थापन गर्न ठूलो संख्यामा सार्वजनिक सवारीसाधन परिचालन गर्नुपर्ने देखिएको हो।
पूर्वाधार विकास समितिले २०८३ सालको दसैं पर्वलाई लक्षित गर्दै सार्वजनिक यातायातको यात्रा व्यवस्थापनसम्बन्धी प्रतिवेदन तयार गरी प्रधानमन्त्री बालेन शाह र पूर्वाधारमन्त्री सुनिल लम्सालसमक्ष बुझाएको छ। समितिका सभापति आशिष गजुरेलसहित सांसदहरूको टोलीले प्रतिवेदन बुझाएको हो। समितिको कार्यसूचीमा पनि दसैं, तिहार र छठलगायत चाडपर्वमा यात्रु आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउने विषय समेटिएको थियो।
समितिको प्रतिवेदनअनुसार यस वर्ष दसैंमा न्यूनतम ६ लाखदेखि अधिकतम १० लाख यात्रुले काठमाडौं उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ। विगतका वर्षमा देखिएको यात्रुको चाप, ट्राफिक प्रहरीको तथ्यांक तथा सार्वजनिक यातायातको आवागमनलाई आधार बनाएर यस्तो प्रक्षेपण गरिएको हो।
दसैंको यात्रामा सबै दिन समान रूपमा यात्रुको चाप नहुने समितिको अध्ययनले देखाएको छ। दसैं सुरु हुनुअघि घटस्थापनाको दिनदेखि यात्रुको संख्या बढ्दै जाने र दसैंको मुख्य दिनतर्फ पुग्दा चाप अझ बढ्ने अनुमान गरिएको छ।
अध्ययनअनुसार घटस्थापनाको दिन न्यूनतम ४५ हजारदेखि अधिकतम ६८ हजारसम्म यात्रुले काठमाडौं छाड्न सक्नेछन्। फूलपातीको दिन भने यात्रुको चाप सबैभन्दा बढी हुने अनुमान गरिएको छ। उक्त दिन मात्रै करिब १ लाख १३ हजारसम्म यात्रुले उपत्यका छाड्न सक्ने प्रक्षेपण गरिएको छ।
फूलपातीको दिन उपत्यकाबाट बाहिरिने यात्रुको हिस्सा कुल यात्रुको करिब १३ देखि २० प्रतिशतसम्म हुन सक्ने अनुमान गरिएको छ। दसैंको दशमीको दिन भने उपत्यका छाड्ने यात्रुको हिस्सा करिब ४ प्रतिशतमा झर्ने प्रक्षेपण गरिएको छ।
ठूला बसले सबैभन्दा धेरै यात्रु बोक्ने
दसैंको समयमा काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुलाई गाउँघर पुर्याउन ठूला बसको भूमिका सबैभन्दा ठूलो हुने देखिएको छ। समितिको प्रतिवेदनअनुसार ठूला बसले करिब ४७.८ प्रतिशत यात्रु बोक्ने अनुमान गरिएको छ।
त्यस्तै, माइक्रोबसले करिब ४२.९ प्रतिशत र मिनिबसले ९.२ प्रतिशत यात्रु बोक्ने अनुमान छ। नागढुङ्गा चेकपोस्टमा गरिएको सर्वेक्षण तथा विगतको यात्रु आवागमनको तथ्यांकलाई आधार बनाएर सवारीसाधनको भूमिका र यात्रु हिस्साको प्रक्षेपण गरिएको हो।
काठमाडौं उपत्यकाबाट बाहिरिने सार्वजनिक यातायातमा सामान्यतया दुईवटा मुख्य चाप देखिने गरेको छ। बिहान ६ बजेदेखि ९ बजेसम्म यात्रुको चाप बढी हुन्छ, जसमा बिहान ७ बजेदेखि ८ बजेसम्मको समय सबैभन्दा व्यस्त हुने गरेको छ।
त्यसैगरी साँझ ६ बजेदेखि ९ बजेसम्म अर्को ठूलो चाप देखिन्छ। साँझ ८ बजेदेखि ९ बजेसम्मको समय तुलनात्मक रूपमा बढी व्यस्त हुने गरेको समितिको अध्ययनमा उल्लेख छ।
नागढुङ्गाबाट पोखरा जाने यात्रुको चाप बढी
दसैंका बेला नागढुङ्गा नाका हुँदै काठमाडौं उपत्यकाबाट बाहिरिने सवारीसाधनमध्ये पोखरा खण्डतर्फ जानेको संख्या सबैभन्दा बढी हुने अनुमान गरिएको छ।
मुग्लिन–पोखरा करिडोर हुँदै कास्की, स्याङ्जा, बागलुङ, म्याग्दी, पर्वत, गोरखा, लमजुङ र तनहुँलगायतका जिल्लातर्फ जाने सवारीसाधनको हिस्सा करिब २७ प्रतिशत हुने अनुमान छ।
त्यसपछि बुटवल हुँदै पश्चिम नेपाल जाने सवारीसाधनको चाप बढी हुने गरेको छ। बुटवल हुँदै दाङ, बाँके, सुर्खेत, कैलाली, कञ्चनपुरलगायत पश्चिम तथा सुदूरपश्चिमका जिल्लामा यात्रु जाने गर्छन्।
नारायणगढ हुँदै पूर्वतर्फ जाने सवारीसाधन पनि ठूलो संख्यामा हुने गरेका छन्। वीरगञ्ज, जनकपुर, धरान, विराटनगर, झापालगायत पूर्वी तथा मध्य तराईका गन्तव्यमा जाने यात्रुले यो मार्ग प्रयोग गर्छन्।
त्यसपछि मुग्लिनतर्फ जाने सवारीसाधनको चाप देखिन्छ। धादिङ, नौबिसे, मलेखु, त्रिशूली र नुवाकोटलगायतका गन्तव्यतर्फ जाने यात्रुका लागि यो मार्ग महत्वपूर्ण छ।
प्रतिवेदनअनुसार नागढुङ्गा नाकाबाट बाहिरिने सवारीसाधनमध्ये करिब ५५ प्रतिशत नारायणगढसम्म पुग्ने गरेका छन्। नारायणगढ पुगेपछि ती सवारीसाधन महेन्द्र राजमार्गमार्फत पूर्व र पश्चिमतर्फ विभाजित हुने गर्छन्।
दसैंमा ६५ हजारसम्म सवारीसाधन आवश्यक
समितिको अध्ययनअनुसार दसैंका यात्रुको माग व्यवस्थापन गर्न अधिकतम ६५ हजारसम्म सवारीसाधन आवश्यक पर्न सक्नेछ। ठूला बसले मात्रै करिब ४८ प्रतिशत यात्रु बोक्ने भएकाले दसैंको सार्वजनिक यातायात व्यवस्थापनमा ठूला बसको भूमिका महत्वपूर्ण हुने देखिएको छ।
यातायात व्यवसायीका अनुसार काठमाडौं उपत्यकालाई केन्द्र बनाएर करिब डेढ लाख सार्वजनिक तथा अन्य सवारीसाधन सञ्चालनमा छन्। गत वर्षको तथ्यांकअनुसार षष्ठीदेखि नवमीसम्म दैनिक औसत १० हजार सवारीसाधनले यात्रु बोकेका थिए।
गत वर्ष फूलपातीको दिन मात्रै १९ हजार ६ सय ७१ सवारीसाधन काठमाडौं उपत्यकाबाट बाहिरिएको तथ्यांक छ। यस वर्ष उपलब्ध सवारीसाधनका आधारमा यात्रुको मागअनुसार पर्याप्त सिट व्यवस्थापन गर्न सकिने समितिको अनुमान छ।
सवारी पर्याप्त भए पनि टिकट अभाव किन?
दसैंमा यात्रुको चाप व्यवस्थापनका लागि आवश्यक संख्यामा सवारीसाधन रहेको देखिए पनि यात्रुले टिकट नपाउने समस्या हरेक वर्ष देखिँदै आएको छ। समितिको प्रतिवेदनले यसको एउटा कारण यात्रुको माग सबै गन्तव्य र सबै नाकामा एकै समयमा समान नहुनुलाई मानेको छ।
कुनै निश्चित दिन वा समयमा एउटा रुटमा यात्रुको चाप अत्यधिक हुने तर अर्को रुटमा तुलनात्मक रूपमा कम हुने अवस्था आउन सक्छ। सोहीअनुसार सवारीसाधन व्यवस्थापन गर्न नसक्दा यात्रुले टिकट नपाउने अवस्था सिर्जना हुने गरेको छ।
त्यसैगरी सडकको अवस्था र यात्राको समयले पनि सार्वजनिक यातायात व्यवस्थापनमा प्रभाव पार्ने गरेको छ। सडकमा जाम, पहिरो, बाढी वा अन्य अवरोधका कारण सवारी निर्धारित समयमा गन्तव्यमा पुग्न नसके अर्को यात्राका लागि तत्काल उपलब्ध हुन सक्दैन।
यात्रुले आफूले चाहेको अगाडिको सिट नपाउँदा पनि टिकट अभाव भएको गुनासो आउन सक्ने समितिको अध्ययनले देखाएको छ।
यस वर्ष यात्रु व्यवस्थापनका लागि तयारी
यस वर्ष दसैंको यात्रा व्यवस्थापनलाई व्यवस्थित बनाउन विभिन्न सरकारी निकायले तयारी अघि बढाएका छन्। समितिले यात्रुको अनुभव, गुनासो तथा सुझाव संकलनका लागि अनलाइन माध्यमसमेत सञ्चालनमा ल्याएको छ। उक्त माध्यमबाट प्राप्त गुनासोलाई सम्बन्धित निकायसम्म पुर्याउने योजना समितिको छ।
यातायात व्यवस्था विभागले अग्रिम टिकट बुकिङका विषयमा व्यवसायीसँग छलफल गरिसकेको छ। यद्यपि अग्रिम टिकट बुकिङको मिति भने तय भइसकेको छैन। विभागले टिकट बुकिङ सकेसम्म अनलाइन माध्यमबाट गर्नुपर्ने विषयमा जोड दिएको छ।
यातायात व्यवसायीलाई चालक तथा कर्मचारीका लागि परिचयपत्रको व्यवस्था गर्न, अनधिकृत स्थान, काउन्टर तथा व्यक्तिबाट टिकट बिक्री रोक्न र यात्रुले अनिवार्य रूपमा टिकट लिएको सुनिश्चित गर्न भनिएको छ।
लामो दूरीका सार्वजनिक सवारीसाधनमा दुई चालक राख्ने तथा यात्रुको मागअनुसार सवारीसाधन व्यवस्थापन गर्न पनि व्यवसायीलाई आग्रह गरिएको छ। चालकले मादक पदार्थ सेवन गरे/नगरेको विषयमा समेत निगरानी बढाउने तयारी छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दसैंका बेला १ हजार ३ सयभन्दा बढी जनशक्ति परिचालन गर्ने तयारी गरेको छ। यात्रुको सहजीकरणका लागि उपत्यकाका विभिन्न १० स्थानमा यात्रु सहायता कक्ष राख्ने तयारी गरिएको छ।
त्यसैगरी प्रमुख नाकाहरूमा प्रहरीले नियमित चेकिङ गर्नेछ। सडक विभागले सम्भावित विपद् तथा आपत्कालीन अवस्थाका लागि उद्धार टोलीलाई तयारी अवस्थामा राख्ने जनाएको छ। आवश्यक परे तत्काल सडक खुलाउन प्रयोग गर्ने गरी ५३ वटा ठूला मेसिनसमेत तयारी अवस्थामा राखिने बताइएको छ।
यस वर्ष बाढीपहिरोका कारण सडक तथा यातायात पूर्वाधारमा परेको क्षति, सार्वजनिक सवारीसाधनको उपलब्धता तथा विभिन्न क्षेत्रमा भएको मानवीय क्षतिका कारण दसैंको यातायात व्यवस्थापन थप चुनौतीपूर्ण हुन सक्ने देखिएको छ।
दीर्घकालीन समाधानमा डिजिटल प्रणालीको सुझाव
दसैं तथा अन्य ठूला चाडपर्वमा हरेक वर्ष दोहोरिने सार्वजनिक यातायातसम्बन्धी समस्या समाधानका लागि समितिले दीर्घकालीन सुझावसमेत दिएको छ।
समितिले सार्वजनिक यातायातसम्बन्धी यात्रुको तथ्यांक नियमित रूपमा संकलन तथा विश्लेषण गर्नुपर्ने आवश्यकता औंल्याएको छ। यात्रुको माग, गन्तव्य, समय र सवारीसाधनको उपलब्धताका आधारमा यातायात व्यवस्थापन गर्न सके चाडपर्वको समयमा हुने अव्यवस्था कम गर्न सकिने प्रतिवेदनको निष्कर्ष छ।
सार्वजनिक यातायातमा प्रविधिको प्रयोग बढाउन, डिजिटल टिकट प्रणाली तथा डिजिटल चलान व्यवस्था लागू गर्न र यात्रुलाई भरपर्दो सूचना उपलब्ध गराउने प्रणाली विकास गर्न पनि सुझाव दिइएको छ।
त्यस्तै, यात्रुलाई सही सूचना उपलब्ध गराउने विश्वसनीय माध्यम विकास, नागरिक सचेतना अभिवृद्धि तथा यातायात सेवा सञ्चालनमा प्रत्यक्ष संलग्न कर्मचारी र व्यवसायीलाई पर्याप्त तालिम दिनुपर्नेमा समितिले जोड दिएको छ।
दीर्घकालीन रूपमा सार्वजनिक यातायात क्षेत्रका समस्या समाधान, व्यवस्थापन र नियमनका लागि सार्वजनिक यातायात प्राधिकरण गठन गर्नसमेत समितिले सुझाव दिएको छ। यसबाट दसैंजस्ता चाडपर्वमा मात्रै नभई वर्षभरि सार्वजनिक यातायात सेवा थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यस वर्ष दसैंमा १० लाखसम्म यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिने अनुमानसँगै सरकारले टिकट व्यवस्थापन, सवारी परिचालन, ट्राफिक व्यवस्थापन, सडकको अवस्था र आकस्मिक उद्धारलगायत पक्षमा समन्वय बढाउनुपर्ने देखिएको छ। समितिको प्रतिवेदन र सम्बन्धित निकायको तयारीले चाडपर्वको यात्रालाई थप व्यवस्थित बनाउने लक्ष्य राखेको छ।
Share this content:
Post Comment