Loading Now

कांग्रेस उपसभापतिमा विनोद चौधरीको उम्मेदवारी, आर्थिक रूपान्तरणमा जोड

कांग्रेस उपसभापति पदमा उम्मेदवारी घोषणा गर्दै विनोद चौधरी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उद्योगपति विनोद चौधरीले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्। चौधरीले सामाजिक सञ्जालमार्फत महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्दै आफ्नो उम्मेदवारी औपचारिक रूपमा सार्वजनिक गरेका हुन्।

उम्मेदवारी घोषणा गर्दै चौधरीले नेपालले अहिले युवा नेतृत्व खोजिरहेको बताएका छन्। उनले कांग्रेसको यस महाधिवेशनबाट युवालाई नेतृत्वमा स्थापित गर्नुपर्ने र आर्थिक समृद्धिको स्पष्ट दृष्टिकोण भएका नेतृत्वलाई पार्टीको जिम्मेवारीमा ल्याउनुपर्ने धारणा राखेका छन्।

चौधरीले आफ्नो उम्मेदवारीलाई केवल पार्टीको एउटा पद प्राप्त गर्ने प्रयासका रूपमा नभई आर्थिक विकासका एजेन्डालाई राजनीतिको केन्द्रमा ल्याउने, युवाको आकांक्षालाई सम्बोधन गर्ने र कांग्रेसलाई नयाँ पुस्तासँग जोड्ने अभियानका रूपमा प्रस्तुत गरेका छन्। उनका अनुसार अब नेपालको आर्थिक रूपान्तरणमा थप ढिलाइ गर्ने अवस्था छैन।

आर्थिक विकासको गति अपेक्षाअनुसार नभएको चौधरीको भनाइ

चौधरीले नेपालले लामो समयदेखि विभिन्न राजनीतिक परिवर्तन पार गरे पनि आर्थिक विकास, रोजगारी सिर्जना र समृद्धिको गति अपेक्षाअनुसार अघि बढ्न नसकेको बताएका छन्।

उनले राजनीतिक परिवर्तनसँगै आर्थिक रूपान्तरणलाई पनि प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याएका छन्। देशमा रोजगारीका अवसर विस्तार गर्ने, उत्पादन बढाउने र अर्थतन्त्रलाई प्रतिस्पर्धी बनाउने स्पष्ट योजना आवश्यक रहेको उनको भनाइ छ।

चौधरीका अनुसार नयाँ पुस्ताको ऊर्जा, युवाको आकांक्षा र अनुभवी नेतृत्वको ज्ञानलाई एकीकृत गरेर मात्रै देशको आर्थिक विकासलाई नयाँ गतिमा अघि बढाउन सकिन्छ। त्यसका लागि राजनीतिक नेतृत्व, आर्थिक विज्ञ तथा नीति निर्माणमा संलग्न व्यक्तिबीच निरन्तर सहकार्य आवश्यक रहेको उनले बताएका छन्।

चौधरीले आर्थिक रूपान्तरण र विकासका एजेन्डामा आफूले नेपाली कांग्रेसका सभापति गगन थापासँग निरन्तर सहकार्य गर्दै आएको पनि उल्लेख गरेका छन्।

२०४८ देखि २०५१ को आर्थिक सुधारको चर्चा

उम्मेदवारी घोषणाका क्रममा चौधरीले नेपाली कांग्रेसको नेतृत्वमा २०४८ देखि २०५१ सालसम्म अघि बढाइएका आर्थिक सुधारलाई पनि स्मरण गरेका छन्।

उनले उक्त अवधिमा सुरु भएका उदारीकरण, निजी क्षेत्रको विस्तार र आर्थिक सुधारले नेपालको अर्थतन्त्रमा नयाँ सम्भावनाको ढोका खोलेको उल्लेख गरेका छन्। तत्कालीन सरकारका तर्फबाट महेश आचार्य र डा. रामशरण महतले आर्थिक सुधारको प्रक्रियामा महत्वपूर्ण भूमिका खेलेको चौधरीले बताएका छन्।

त्यस समयमा आफू नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षका रूपमा निजी क्षेत्रको आर्थिक उदारीकरणलाई संस्थागत गर्न योगदान गरेको उनको भनाइ छ।

तर विगतमा सुरु भएका आर्थिक सुधारलाई थप गहिरो, व्यापक र प्रभावकारी बनाउँदै नयाँ चरणमा लैजान नसक्दा नेपालको आर्थिक विकासले अपेक्षित गति लिन नसकेको चौधरीको धारणा छ।

उनले विगतका उपलब्धि र सीमाबाट सिक्दै नयाँ आर्थिक सोच, स्पष्ट दृष्टिकोण र परिणाममुखी नीतिका साथ अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

‘राजनीतिका लागि राजनीति’ पर्याप्त छैन

चौधरीले अब केवल राजनीतिका लागि राजनीति गरेर देशमा परिवर्तन सम्भव नहुने बताएका छन्। आर्थिक समृद्धिका लागि स्पष्ट योजना बनाएर कार्यान्वयनमा जानुपर्ने उनको भनाइ छ।

उनले नेपालको अर्थतन्त्रलाई उत्पादनमुखी, रोजगारी सिर्जना गर्ने, नवप्रवर्तनमा आधारित र प्रतिस्पर्धी अर्थतन्त्रका रूपमा विकास गर्नुपर्ने धारणा अघि सारेका छन्। यसका लागि नयाँ पुस्ताको ऊर्जा र अनुभवी नेतृत्वको ज्ञानलाई जोड्नुपर्ने उनको भनाइ छ।

चौधरीका अनुसार अब आकर्षक नाराभन्दा नयाँ आर्थिक सोच, स्पष्ट नीति, प्रभावकारी कार्यान्वयन, जवाफदेही शासन र परिणाम दिने नेतृत्व आवश्यक छ।

उनले देशको विकासका लागि दूरदृष्टि भएको राजनीतिक नेतृत्व र त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न सक्ने आर्थिक विज्ञ तथा नीति निर्माताबीच बलियो संस्थागत सहकार्य अपरिहार्य रहेको बताएका छन्।

युवा नेतृत्व र नयाँ पुस्तालाई जोड्ने दाबी

चौधरीले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा आफ्नो सहभागितालाई पनि युवा नेतृत्व स्थापना गर्ने उद्देश्यसँग जोडेर व्याख्या गरेका छन्। उनले नयाँ पुस्ताको परिवर्तनको चाहना र अपेक्षालाई सम्बोधन गर्दै कांग्रेसलाई जनताको अपेक्षाअनुसारको पार्टीका रूपमा अघि बढाउनुपर्ने बताएका छन्।

उनका अनुसार पार्टीको नेतृत्वमा युवाको सहभागिता बढाउनु अहिलेको आवश्यकता हो। नयाँ पुस्तालाई पार्टीको नेतृत्व र निर्णय प्रक्रियासँग जोड्दै कांग्रेसलाई थप आधुनिक, सशक्त र जनमुखी बनाउनुपर्ने उनको धारणा छ।

उनले आफ्नो उम्मेदवारी कुनै व्यक्तिविरुद्ध नभएको स्पष्ट पार्दै देशको आर्थिक रूपान्तरण र नयाँ पुस्ताको अपेक्षालाई राजनीतिको केन्द्रमा राख्ने उद्देश्य रहेको बताएका छन्।

आर्थिक समृद्धिको जिम्मेवारी लिन तयार रहेको दाबी

चौधरीले उपसभापतिको उम्मेदवारीमार्फत आर्थिक विकासको एजेन्डालाई कांग्रेसको राजनीतिक प्राथमिकतामा अझ बलियो रूपमा स्थापित गर्न चाहेको बताएका छन्।

उनले आर्थिक समृद्धिका लागि आवश्यक नीति निर्माणदेखि त्यसको कार्यान्वयनसम्म राजनीतिक नेतृत्व र आर्थिक क्षेत्रबीच प्रभावकारी सहकार्य हुनुपर्नेमा जोड दिएका छन्।

उनको भनाइमा देशलाई रूपान्तरण गर्न स्पष्ट आर्थिक योजना, सक्षम कार्यान्वयन र परिणाममुखी नेतृत्व आवश्यक छ। यही सोचका साथ आफूले कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिएको उनले बताएका छन्।

चौधरीले महाधिवेशन प्रतिनिधिहरूसँग आफ्नो अभियानमा साथ, सहयोग, सुझाव र मतका लागि अपिल गरेका छन्। उनले प्रतिनिधिहरूको विश्वासलाई जिम्मेवारीका रूपमा लिएर आर्थिक रूपान्तरण, सुशासन र नयाँ पुस्ताको आकांक्षालाई केन्द्रमा राख्दै कांग्रेसलाई थप सशक्त तथा जनमुखी बनाउन प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

Share this content:

Post Comment

You May Have Missed