बाढीपहिरोपछि विद्युत् आपूर्ति प्रभावित, १ हजार ३०३ मेगावाट बराबरको अवरोध
११ असोज, काठमाडौं । अविरल वर्षापछि आएको बाढीपहिरोका कारण देशका विभिन्न क्षेत्रमा विद्युत् प्रसारण तथा वितरण प्रणाली प्रभावित भएको छ। बाढी र पहिरोका कारण प्रसारण लाइनमा फाल्ट आउनुका साथै जलविद्युत् आयोजना, उत्पादन केन्द्र तथा सबस्टेसनका उपकरणमा समेत समस्या देखिएपछि विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको हो।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार बाढीपहिरोका कारण पोखरा, बुटवल, हेटौंडा र काठमाडौंलगायतका क्षेत्रमा विद्युत् प्रणालीमा उल्लेखनीय अवरोध देखिएको छ। विभिन्न समयमा भएका प्रसारण लाइन, विद्युत् उत्पादन तथा लोडतर्फका अवरोधलाई जोड्दा करिब १ हजार ३०३ मेगावाट बराबरको विद्युत् प्रणाली प्रभावित भएको मन्त्रालयले जनाएको छ।
तर उक्त १ हजार ३०३ मेगावाटलाई एकै समयमा भएको विद्युत् कटौतीका रूपमा बुझ्न नहुने मन्त्रालयले स्पष्ट पारेको छ। यो विभिन्न स्थान र फरक–फरक समयमा प्रसारण लाइन, विद्युत् उत्पादन तथा लोडमा देखिएका अवरोधहरूको कुल योग हो।
पोखरा क्षेत्रमा सबैभन्दा बढी प्रभाव
बाढीपहिरोका कारण सबैभन्दा बढी प्रभाव पोखरा क्षेत्रमा परेको छ। कुस्मा–न्यू बुटवल २२० केभी प्रसारण लाइनमा फाल्ट आएपछि करिब २०० मेगावाट बराबरको विद्युत् प्रभावित भएको छ। त्यस्तै, रौघाट–दाना लाइन १ र २ मा देखिएको अवरोधका कारण करिब १५५ मेगावाट विद्युत् प्रभावित भएको विवरणमा उल्लेख छ।
बाढीका कारण कालीगण्डकी, अपर मादी, सुपर मादी, सिक्लेस–नामर्जुङ, सेती नदी–करुवासेट, अपर दोर्दी र मोदीलगायतका जलविद्युत् आयोजनाको उत्पादन तथा विद्युत् आपूर्तिमा समेत असर परेको छ।
पोखरा क्षेत्रका विभिन्न जलविद्युत् आयोजनाबाट मात्रै ४०० मेगावाटभन्दा बढी क्षमतामा प्रभाव परेको बताइएको छ। लगातारको वर्षा, बाढी तथा सडक अवरोधका कारण आयोजना तथा प्रसारण संरचनामा पुगेको क्षतिले विद्युत् उत्पादन र आपूर्तिको नियमित प्रणाली प्रभावित भएको हो।
रौघाट क्षेत्रमा पनि विद्युत् प्रसारणमा समस्या देखिएको छ। न्यू बुटवल–कुस्मा २२० केभी प्रसारण लाइनमा फाल्ट आएपछि करिब ११० मेगावाट बराबरको विद्युत् प्रभावित भएको थियो। उक्त लाइन बिहान ९:५० बजेसम्म पुनः सञ्चालनमा ल्याउने अपेक्षा गरिएको विवरणमा उल्लेख गरिएको छ।
बुटवल क्षेत्रमा पनि प्रसारण लाइनमा समस्या
बुटवल क्षेत्रमा पनि बाढीपहिरो तथा वर्षाका कारण विद्युत् प्रणाली प्रभावित भएको छ। न्यू भारतपुर–न्यू बुटवल २२० केभी प्रसारण लाइनमा रुख ढलेपछि फाल्ट आएको थियो। उक्त लाइन बिहान ९:५१ बजे चार्ज गरिएको विवरणमा उल्लेख छ।
त्यस्तै, चापर–पथलैया १३२ केभी प्रसारण लाइन आउट भएपछि कावासोती सबस्टेसनमा करिब एक घण्टासम्म लोड कटौती गरिएको थियो। प्रसारण लाइनमा आएको समस्याका कारण विद्युत् आपूर्ति व्यवस्थापन गर्न केही क्षेत्रमा वैकल्पिक व्यवस्था गर्नुपर्ने अवस्था आएको हो।
हेटौंडा क्षेत्रमा पनि विद्युत् आपूर्ति प्रभावित
हेटौंडा क्षेत्रमा समेत बाढीले विद्युत् प्रणालीमा असर पुर्याएको छ। माण्डु ६६ केभीमा बाढीका कारण करिब ३२ मेगावाट विद्युत् प्रभावित भएको छ।
त्यस्तै, कावासोती–भारतपुर १३२ केभी प्रसारण लाइनअन्तर्गत भारतपुर सबस्टेसनमा सीभीटी जलेपछि विद्युत् आपूर्तिमा समस्या देखिएको थियो। यसका कारण सम्बन्धित क्षेत्रमा विद्युत् आपूर्ति व्यवस्थापनमा थप चुनौती उत्पन्न भएको छ।
सिमरा सबस्टेसनमा करिब २० मेगावाट विद्युत् प्रभावित भएको छ। त्यसैगरी अमलेखगञ्ज, परवानीपुर तथा वीरगञ्जका उद्योगहरूमा करिब ८० मेगावाट बराबरको विद्युत् आपूर्ति प्रभावित भएको विवरणमा उल्लेख छ। काम्ने सबस्टेसन तथा त्यहाँका उद्योगमा समेत करिब २५ मेगावाट विद्युत् आपूर्ति प्रभावित भएको छ।
काठमाडौं उपत्यकामा पनि छोटो समय अवरोध
बाढीपहिरोको प्रत्यक्ष प्रभाव काठमाडौं उपत्यकाको विद्युत् आपूर्तिमा समेत देखिएको छ। उपत्यकाको पाटन र टेकु क्षेत्रमा छोटो समयका लागि विद्युत् आपूर्ति अवरुद्ध भएको थियो।
पाटन सबस्टेसनमा बिहान ९ बजेदेखि ९:१० बजेसम्म विद्युत् अवरोध भएको थियो। टेकु क्षेत्रमा पनि सोही अवधिमा विद्युत् आपूर्तिमा समस्या देखिएको थियो।
पाटन क्षेत्रमा पथलैया लाइन र केएल–१ स्युचाटार ६६ केभी लाइन एकै समयमा ओभरलोड भएपछि समस्या उत्पन्न भएको विवरणमा उल्लेख छ। बाढीका कारण नियमित विद्युत् आपूर्तिमा समस्या आएपछि एमआरएसको आपत्कालीन आपूर्ति प्रयोग गरिएको थियो।
विभिन्न सबस्टेसनमा लोड कटौती
बाढी तथा प्रसारण लाइनमा देखिएको समस्याका कारण विभिन्न सबस्टेसनमा लोड कटौतीसमेत गर्नुपरेको छ। कावासोती सबस्टेसनमा बिहान ८ बजेदेखि ९:१५ बजेसम्म करिब २० मेगावाट लोड कटौती गरिएको थियो।
त्यस्तै, हरदी सबस्टेसनमा पनि सोही अवधिमा करिब २५ मेगावाट लोड कटौती गरिएको विवरणमा उल्लेख छ।
सुनवल–मैनिया तथा बुटवल क्षेत्रका उद्योगमा बिहान ६:०२ बजेदेखि करिब ५० मेगावाट लोड कटौती गरिएको थियो। सिमरा सबस्टेसनमा बिहान ६ बजेदेखि १० बजेसम्म करिब २० मेगावाट लोड कटौती गरिएको थियो।
त्यसैगरी अमलेखगञ्ज, परवानीपुर तथा वीरगञ्जका उद्योगमा बिहान ६:०१ बजेदेखि करिब ८० मेगावाट लोड कटौती गरिएको विवरणमा उल्लेख छ।
पश्चिम तथा मध्य नेपालको विद्युत् प्रणालीमा असर
विद्युत् प्रणालीमा देखिएको अवरोधको मुख्य कारण बाढीका कारण प्रसारण लाइन तथा विद्युत् उत्पादन केन्द्रमा पुगेको क्षति, लाइनमा आएको फाल्ट, सबस्टेसनका उपकरणमा देखिएको समस्या तथा त्यसपछि उत्पन्न भएको ओभरलोड रहेको बताइएको छ।
विशेषगरी पोखरा–बुटवल २२० केभी प्रसारण करिडोर तथा पथलैया आसपासका १३२ केभी प्रसारण लाइनमा आएको अवरोधले पश्चिम तथा मध्य नेपालको विद्युत् आपूर्तिमा उल्लेखनीय प्रभाव पारेको छ।
बाढीपहिरोका कारण प्रभावित भएका विद्युत् संरचनाको अवस्थाबारे प्रारम्भिक विवरण संकलन गर्ने, विद्युत् आपूर्ति अवरुद्ध भएका क्षेत्र पहिचान गर्ने तथा उपलब्ध वैकल्पिक माध्यमबाट आपूर्ति सञ्चालन गर्ने काम अघि बढाइएको छ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार क्षतिग्रस्त संरचनाको तत्काल मर्मत तथा विद्युत् आपूर्ति पुनःस्थापनाका लागि प्राविधिक र मर्मत टोलीहरू प्रभावित क्षेत्रमा परिचालन गरिएको छ।
विद्युत् आपूर्ति पुनःस्थापनालाई प्राथमिकता
श्रेष्ठका अनुसार विद्युत् आपूर्ति अवरुद्ध भएका स्थानमा सम्भव भएसम्म वैकल्पिक फिडर तथा उपलब्ध प्रसारण र वितरण संरचनामार्फत आपूर्ति सुचारु गर्ने व्यवस्था मिलाइएको छ।
क्षतिग्रस्त संरचनाको अवस्था मूल्याङ्कन गरी आवश्यक उपकरण, सामग्री तथा जनशक्ति परिचालन गरेर प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति क्रमशः पुनःस्थापित गर्ने काम भइरहेको उनले बताएका छन्।
प्राकृतिक विपद्का कारण विद्युत् संरचनामा क्षति पुगे पनि उपभोक्ताको विद्युत् आपूर्ति सकेसम्म छिटो नियमित गराउन प्राधिकरणले उच्च प्राथमिकताका साथ काम गरिरहेको जनाएको छ।
तर भारी वर्षा, बाढीपहिरो र सडक अवरुद्ध भएका कारण कतिपय प्रभावित क्षेत्रमा प्राविधिक टोली पुग्न कठिनाइ भइरहेको छ। पहुँचमार्ग तथा सडक खुल्नासाथ थप प्राविधिक टोली र आवश्यक उपकरण प्रभावित क्षेत्रमा पठाएर क्षतिग्रस्त संरचनाको मर्मत तथा विद्युत् आपूर्ति पुनःस्थापनाको काम तीव्र बनाइने प्राधिकरणले जनाएको छ।
प्राधिकरणले उपलब्ध वैकल्पिक संरचना र स्रोतसाधन प्रयोग गरेर प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति निरन्तरता दिने प्रयास भइरहेको जनाएको छ। सम्भव भएसम्म छोटो समयमा नियमित आपूर्ति पुनःस्थापित गर्ने उद्देश्यले आवश्यक सबै स्रोतसाधन परिचालन गरिएको प्राधिकरणको भनाइ छ।
यसैबीच, विद्युत् संरचनामा क्षति पुगेका कारण कतिपय स्थानमा आपूर्ति प्रभावित भइरहेका बेला उपभोक्तालाई पनि विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। ढलेका विद्युत् तार, पोल तथा क्षतिग्रस्त विद्युत् संरचना नजिक नजान र त्यस्ता संरचनालाई नछुन प्राधिकरणले अनुरोध गरेको छ।
बाढीपहिरोका कारण विद्युत् प्रणालीमा आएको क्षतिको पूर्ण विवरण संकलन तथा मर्मत कार्य अघि बढ्दै जाँदा प्रभावित क्षेत्रको विद्युत् आपूर्ति क्रमशः सामान्य बनाउने प्रयास जारी रहने प्राधिकरणले जनाएको छ।
Share this content:
Post Comment