घरेलु खपतमा जोड दिँदै मन्त्री घिसिङः “विद्युत् निर्यातभन्दा भित्रै खपत बढाउने हाम्रो प्राथमिकता”
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले देशमा उत्पादित विद्युत्को आन्तरिक खपत बढाउने अभियानलाई प्राथमिकता दिइएको बताएका छन्।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको २९औँ वार्षिकोत्सवको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा मन्त्री घिसिङले माग पक्ष सुदृढीकरणका लागि सरकार निरन्तर काम गरिरहेको जानकारी दिए।
उनका अनुसार, विद्युत् खपत वृद्धिका लागि देशभर विद्युतीय सवारीसाधन (EV) प्रयोगलाई प्रोत्साहन गर्दै चार्जिङ स्टेसनहरू स्थापना भइरहेका छन्। साथै, इन्डक्सन चुलोको प्रयोग विस्तार गरी खाना पकाउन प्रयोग हुने काठदाउरा र ग्याँसलाई प्रतिस्थापन गर्ने प्रयास भइरहेको छ।
मन्त्री घिसिङले भने,
“अहिले हामीले उत्पादित विद्युत् देशभित्र नै बढी खपत गर्ने रणनीति लिएका छौँ। वर्षायाममा अतिरिक्त विद्युत् भारत र बङ्गलादेशमा निर्यात भए पनि हाम्रो मुख्य ध्यान आन्तरिक माग वृद्धि र उपयोगमा केन्द्रित छ।”
उनले चार्जिङ पूर्वाधार विस्तार, घरेलु विद्युतीकरण प्रवर्द्धन र नवीकरणीय ऊर्जाको प्रयोगलाई राष्ट्रिय प्राथमिकताका रूपमा अघि सारिने पनि बताए।
सरकारले हालका वर्षहरूमा वैकल्पिक ऊर्जाको पहुँच विस्तार र विद्युतीय उपकरण प्रयोगमा अनुदानमार्फत सहयोग गर्दै आएको छ। मन्त्री घिसिङका अनुसार, यस्तो नीति निरन्तरता दिँदा नेपाल नजिकैको भविष्यमा पूर्ण विद्युतीकृत अर्थतन्त्रतर्फ अघि बढ्नेछ।
Share this content:
Post Comment