“जिल्ला अदालतको नक्कली पेज बनाएर ठगी गर्ने आमा–छोरी पक्राउ, पीडितलाई सम्पर्कमा आउन अपिल”
जिल्ला अदालत मोरङको नाममा नक्कली फेसबुक पेज बनाएर सर्वसाधारणबाट ठगी गर्दै आएकी एक आमा–छोरीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा विराटनगर–५ बस्ने ५० वर्षीया पुनम देवी साह र उनकी २७ वर्षीया छोरी कोमल कुमारी साह रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले अदालतको आधिकारिक नाम र लोगो प्रयोग गरी नक्कली सामाजिक सञ्जाल पेज सिर्जना गरेका थिए । सो पेजमार्फत विभिन्न सरकारी जागिर खुला भएको भनी भ्रामक सूचना प्रसारण गरी असली कागजात देखाउँदै आर्थिक ठगी गर्दै आएका थिए।
मोरङ जिल्ला प्रहरी कार्यालयको टोलीले सूचना प्रविधि अपराध अन्तर्गत उनीहरूलाई शुक्रबार नियन्त्रणमा लिएको हो। अनुसन्धानका क्रममा उनीहरूले ई–सेवा लगायतका अनलाइन माध्यम प्रयोग गरी पैसा उठाएको पाइएको छ।
प्रहरीले अन्य व्यक्ति पनि ठगीमा संलग्न हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ र थप अनुसन्धान भइरहेको जनाएको छ।
प्रदेश प्रहरी कार्यालय विराटनगरले ठगीमा परेका पीडितहरूलाई सम्पर्कमा आउन अपिल गरेको छ । प्रहरीका अनुसार, ठगीका सबै प्रमाण संकलन गरी साइबर अपराधसम्बन्धी मुद्दा दायर गर्ने तयारी भइरहेको छ।
प्रहरी स्रोतका अनुसार यो गिरोहले करिब दर्जनौं व्यक्तिलाई नक्कली रोजगारको नाममा लाखौं रुपैयाँ असुली गरेको हुनसक्ने अनुमान गरिएको छ।
Share this content:
Post Comment