Loading Now

सरकारद्वारा सवारी चालक अनुमतिपत्रको छपाइ कार्य सुरु

अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) विदेशी कम्पनीमार्फत होइन, सरकारले आफ्नै प्रेसबाट छपाइ गर्न थालेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सुरक्षण मुद्रण केन्द्रले आजदेखि औपचारिक रूपमा लाइसेन्स छपाइ कार्यको सुरुवात गरेको हो।

उद्घाटन समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बनेपास्थित मुद्रण केन्द्रको मेसिनमा बटन थिचेर नयाँ कार्यको शुभारम्भ गरे। मन्त्री खरेलले लामो समयदेखि अलपत्र परेको सरकारी मुद्रण प्रणालीलाई पुनः सक्रिय पार्दै अबदेखि लाइसेन्स, राहदानी, नागरिकता लगायतका महत्त्वपूर्ण कागजातहरू देशमै छपाइ गरिने बताए।

“वर्षौँदेखि थन्किएका मेसिनहरू पुनः सञ्चालनमा ल्याएर हामीले काम सुरु गरेका हौँ,” मन्त्री खरेलले भने, “कानुनी र प्राविधिक चुनौतीहरूका बीच पनि आवश्यक तयारी पूरा गरी सरकारी प्रेसबाटै लाइसेन्स छपाइ सुरु गर्नु ऐतिहासिक कदम हो।”

सुरक्षण मुद्रण केन्द्रका अनुसार प्रारम्भिक चरणमा १२ लाख प्रति छपाइको सम्झौता गरिएको छ, र हाल दैनिक ५०० प्रति छपाइ भइरहेको छ। आगामी दिनमा उत्पादन क्षमता क्रमशः बढाइने तयारी रहेको केन्द्रले जनाएको छ।

कार्यकारी निर्देशक देवराज ढुंगानाका अनुसार, कार्डमा आधारित लाइसेन्स छपाइ सुरु भइसकेको छ भने कागजी लाइसेन्स छपाइ पनि छ महिनाभित्र सुरु गरिने लक्ष्य राखिएको छ। साथै, केन्द्रबाट अहिले नागरिकता, राहदानी, हुलाक टिकट, लालपूर्जा, भिसा र अन्तःशुल्क स्टिकर पनि छाप्न सकिने व्यवस्था मिलाइएको छ।

मुद्रण कार्य विदेशी कम्पनीलाई ठेक्का दिने प्रवृत्तिले देशको पैसा बाहिरिने र सुरक्षासम्बन्धी प्रश्न उठाउने अवस्था रहँदै आएकोमा, अब सरकारी मुद्रण केन्द्रबाटै छपाइ सुरु भएपछि आत्मनिर्भरता र राष्ट्रिय सुरक्षाको दृष्टिले यो महत्वपूर्ण उपलब्धि ठहरिएको मन्त्री खरेलले बताए।

सुरक्षण मुद्रण केन्द्रमा हालसम्म करिब तीन अर्ब रुपैयाँ बराबरको लगानी भइसकेको छ। मन्त्री खरेलका अनुसार, केन्द्रलाई निरन्तरता र सुदृढ बनाउँदै आगामी दिनमा सबै सरकारी कागजातहरू यहीँबाट छपाइ गर्ने योजना रहेको छ।

security-printing-driving-license_jabFOGVX5D सरकारद्वारा सवारी चालक अनुमतिपत्रको छपाइ कार्य सुरु

Share this content:

Post Comment