खैरहनीका किसानलाई बर्खे धानको उन्नत बीउमा ५० प्रतिशत अनुदान
चितवन। खैरहनी नगरपालिकाले नगरभित्रका किसानलाई लक्षित गर्दै बर्खे धानको उन्नत बीउमा ५० प्रतिशत अनुदान उपलब्ध गराउने भएको छ। यो कार्यक्रम चालु आर्थिक वर्षको स्वीकृत खाद्यान्न बाली प्रवर्द्धन कार्यक्रम अन्तर्गत सञ्चालन गर्न लागिएको हो।
नगरपालिकाका अनुसार धान उत्पादन वृद्धि, उन्नत बीउको प्रयोग विस्तार तथा किसानलाई समयमै गुणस्तरीय बीउ उपलब्ध गराउने उद्देश्यले उक्त अनुदान कार्यक्रम ल्याइएको हो। यसबाट स्थानीय स्तरमा धानको उत्पादकत्व बढ्नुका साथै किसानको उत्पादन लागतसमेत घट्ने अपेक्षा गरिएको छ.
अनुदान कार्यक्रमअन्तर्गत खैरहनी नगरपालिकाभित्रका इच्छुक किसान, कृषि समूह, सहकारी तथा कृषि फर्मले आवेदन दिन सक्नेछन्। नगरपालिकाले आवश्यक प्रक्रिया पूरा गरी योग्य किसान छनोटपछि उन्नत धानको बीउ वितरण गर्ने तयारी गरेको जनाएको छ।
स्थानीय किसानले यस्तो अनुदान कार्यक्रमले समयमै बीउ पाउन सहज हुने र उत्पादन बढाउन प्रत्यक्ष सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। विशेषगरी बर्खे धान रोपाइँको समय नजिकिँदै गर्दा यो कार्यक्रम किसानका लागि उपयोगी हुने देखिएको छ।
कृषि क्षेत्रमा आत्मनिर्भरता बढाउने र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने लक्ष्यसहित नगरपालिकाले आगामी दिनमा यस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजाने जनाएको छ।
Share this content:
Post Comment